
">विपद् व्यवस्थापनमा हामीले एउटा कुरा बुझ्न जरुरी छ—विपद् आएपछि उद्धार गरेर मानिसलाई सुरक्षित स्थानमा पुर्याउनु मात्र विपद् व्यवस्थापनको अन्तिम चरण होइन। वास्तवमा, उद्धारपछि नै अर्को महत्वपूर्ण चुनौती सुरु हुन्छ, त्यो हो सार्वजनिक स्वास्थ्यको चुनौती।
रसुवामा आएको बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। यस्तो विपद्को समयमा हाम्रो पहिलो प्राथमिकता स्वाभाविक रूपमा उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु हुन्छ। तर उद्धारपछि प्रभावित नागरिकको स्वास्थ्यलाई कसरी सुरक्षित राख्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ।
बाढीले घर, सडक र पुल मात्र बगाउँदैनस यसले खानेपानीका मुहान, पानीका पाइपलाइन, शौचालय तथा स्वास्थ्य संस्थाको संरचनामा समेत क्षति पुर्याउन सक्छ। खानेपानी दूषित हुने र सरसफाइको अवस्था कमजोर हुने भएकाले बाढीपछि झाडापखाला, हैजा, टाइफाइडलगायत पानी तथा सरसफाइसँग सम्बन्धित रोगको जोखिम बढ्न सक्छ। त्यसैले राहत वितरण गर्दा चामल, दाल, कपडा र औषधिसँगै सुरक्षित खानेपानी, शौचालय, हात धुने व्यवस्था र व्यक्तिगत सरसफाइलाई पनि प्राथमिकतामा राख्नुपर्छ।
त्यस्तै, विस्थापित नागरिकहरू अस्थायी शिविर वा अन्य सुरक्षित स्थानमा ठूलो संख्यामा बस्नुपर्ने अवस्था आउन सक्छ। भीडभाड, अपर्याप्त सरसफाइ र स्वास्थ्य सेवामा अवरोधका कारण संक्रामक रोग फैलिने जोखिम अझ बढ्न सक्छ। यस्तो अवस्थामा नियमित स्वास्थ्य जाँच, रोगको प्रारम्भिक पहिचान, आवश्यक उपचार र समयमै रेफरलसँगै रोग निगरानी प्रणाली प्रभावकारी बनाउन आवश्यक हुन्छ।
विपद्का बेला घाइतेको उपचारमा पनि ठूलो चुनौती हुन्छ। चोटपटक लागेका व्यक्तिको तत्काल उपचार अत्यावश्यक भए पनि उपचारपछि उनीहरूको पुनर्स्थापना पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गम्भीर चोटपटक भएका व्यक्तिलाई निरन्तर स्वास्थ्य परीक्षण, औषधि, पोषण, फिजियोथेरापी तथा अन्य पुनर्स्थापना सेवाको आवश्यकता पर्न सक्छ।
अर्को महत्वपूर्ण तर प्रायः बेवास्ता गरिने पक्ष हो—मानसिक स्वास्थ्य।
विपद्ले मानिसको घर र सम्पत्ति मात्र होइन, उसको मानसिक शान्ति पनि खोस्न सक्छ। आफन्त गुमाएका, परिवारका सदस्य बेपत्ता भएका, घरबार गुमाएका वा मृत्युको मुखबाट बचेकाहरूमा डर, तनाव, चिन्ता, निद्राको समस्या तथा मानसिक आघात देखिन सक्छ। त्यसैले विपद् प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई पनि राहत तथा स्वास्थ्य सेवाको अभिन्न अंग बनाउनुपर्छ।
यससँगै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोग भएका नागरिकको स्वास्थ्य आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। विपद्को समयमा नियमित औषधि सेवन गर्ने बिरामीको औषधि, गर्भवतीको नियमित जाँच तथा बालबालिकाको पोषण र खोप सेवामा अवरोध नआउने व्यवस्था गर्न आवश्यक हुन्छ।

रसुवाको विपद्ले हामीलाई एउटा महत्वपूर्ण पाठ दिएको छ—विपद् व्यवस्थापन भनेको उद्धार व्यवस्थापन मात्र होइन, स्वास्थ्य जोखिम व्यवस्थापन पनि हो।
हामीले विपद्पूर्व तयारीदेखि उद्धार, उपचार, रोग निगरानी, सुरक्षित पानी तथा सरसफाइ, पोषण, मानसिक स्वास्थ्य, पुनर्स्थापना र स्वास्थ्य सेवाको पुनःस्थापनासम्मलाई एउटै प्रणालीका रूपमा हेर्नुपर्छ।
विपद् आएपछि उद्धार गरेर मानिसलाई सुरक्षित स्थानमा पुर्याउनु पहिलो जिम्मेवारी हो। तर त्यसपछि हाम्रो अर्को जिम्मेवारी सुरु हुन्छ—उद्धार गरिएका मानिसलाई रोग, संक्रमण र अन्य स्वास्थ्य जोखिमबाट सुरक्षित राख्ने।
रसुवाको बाढीले धेरै परिवारलाई ठूलो पीडा दिएको छ। अब प्रभावित नागरिकले उद्धारपछि अर्को संकटका रूपमा सार्वजनिक स्वास्थ्य आपत्कालको सामना गर्न नपरोस् भन्नेमा सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, गैरसरकारी संस्था र समुदाय सबै सचेत हुन आवश्यक छ।
अन्ततः, उद्धारले तत्काल जीवन बचाउँछ, तर प्रभावकारी सार्वजनिक स्वास्थ्य व्यवस्थापनले बाँचेका जीवनलाई सुरक्षित राख्छ।
त्यसैले अब हाम्रो प्रश्न केवल “कति जनाको उद्धार भयोरु” भन्ने मात्र हुनु हुँदैन। अर्को महत्वपूर्ण प्रश्न पनि हुनुपर्छ—
“उद्धार गरिएका मानिसलाई हामीले आगामी स्वास्थ्य जोखिमबाट कति सुरक्षित राख्न सक्यौँ ”
लेखक : शिखर गौतम जनस्वास्थ्यकर्मी हुनुहुन्छ
