
">मुनाल पोष्ट,
तिब्बतबाट रसुवा हुदै आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपासमा रहेका विभिन्न बैंकका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका छन । नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।
बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको उहाले बताउनुभयो । ‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ, सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका छन्,’ उहाले भन्नुभयोे।
सोही क्षेत्रका विकास बैंकहरूमा भने कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ । बुधवार तिब्बतबाट रसुवा भोटेकोशी नदीमा आएको बढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् ।

बाढीले प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुर्याएको शर्माले बताउनुभयो । क्षति विवरण पनि क्रमिक संकलन भइरहेको र पहिलो प्राथमिकता कर्मचारी सुरक्षा भएकाले सबै बिर्सेर उनीहरूको अवस्थाको जानकारी लिन मात्रै लागेको शर्माले बताउनुभयो ।
कर्मचारीहरूको टुंगो लागेपछि मात्र भौतिक क्षति विवरण संकलन गर्ने उहाले बताउनुभयो । बाढीले क्षति पुर्याएको क्षेत्रमा जान सकिने अवस्था छैन । फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पुर्याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उहाको भनाई छ ।
