
">मुनाल पोष्ट,
रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि प्युठानको गौमुखी गाउँपालिका–६, लिवाङ घर भई देश तथा विदेशमा रहेका श्रीपाली भाइबन्धुहरूले आर्थिक सहयोग गरेका छन्।
भदौ १० गते बिहान करिब ९:३० बजे आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा चितवनलगायतका क्षेत्रमा भएको मानवीय तथा चौपायाको क्षतिप्रति दुःख व्यक्त गर्दै श्रीपाली भाइबन्धुहरूले आफ्नो क्षमताअनुसार रकम संकलन गरेका हुन्। श्रीपाली भाइबन्धुहरूले संकलन गरेको रु। १० हजार ३ सय ५७ रुपैयाँ प्रधानमन्त्री विपद् राहत खातामा जम्मा गरिएको जनाइएको छ। विपद्को पीडामा देश नै मर्माहित बनेको अवस्थामा रकमको आकारभन्दा पनि सहयोगको भावना महत्वपूर्ण हुने भन्दै श्रीपाली भाइबन्धुहरूले विपद् पीडितप्रति ऐक्यबद्धता र साथ व्यक्त गरेका छन्।

“हाम्रो सहयोग रकमका हिसाबले सानो भए पनि विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीप्रतिको भावना, माया र साथ ठूलो छ,” श्रीपाली भाइबन्धुहरूको भनाइ छ। उनीहरूले देश दुःखेको यस कठिन घडीमा सबै नागरिकलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नसमेत हार्दिक अपिल गरेका छन्। विपद्को समयमा सानो–सानो सहयोगसमेत पीडितका लागि ठूलो भरोसा बन्ने भएकाले मानवीय सेवामा सबै एकजुट हुनुपर्ने उनीहरूको धारणा रहेको छ।

