malvika
ma laxmi dental

कपिलवस्तु-३ मा विदेशी हस्तक्षेप : मतदाता प्रभावित पार्ने शाहकाे चलखेल

">

अभिषेक प्रताप शाहले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ मा आफ्नो पक्षमा मत माग्दै विदेशी नेताको उपस्थितिमा अपिल गरेपछि विवाद उत्पन्न भएको छ । शाहले भारतको उत्तर प्रदेशका पूर्व मन्त्री तथा जगदम्बिका पालसँगै सार्वजनिक रूपमा मतदातासँग समर्थन मागेका हुन् ।

">

शाहले आफ्नै फेसबुकमा मत मागेकाे भिडियो सन्देश शेयर गरेका छन् । पाल नेपाल आएर शाहकै निवासमा पुगेका थिए र त्यहाँबाट मतदातालाई शाहको पक्षमा मतदान गर्न आग्रह गरिएको बताइएको छ । निर्वाचनका सन्दर्भमा विदेशी नागरिक वा नेताले नेपालमा आएर कुनै उम्मेदवारको पक्षमा प्रचार-प्रसार गर्नु संवेदनशील विषय मानिन्छ ।

नेपालको कानुनअनुसार निर्वाचन प्रचार-प्रसार नेपाली नागरिक र सम्बन्धित दल/उम्मेदवारको दायराभित्र सीमित हुनुपर्ने व्यवस्था छ । निर्वाचन आचारसंहिताले विदेशी नागरिकलाई प्रत्यक्ष रूपमा चुनावी गतिविधिमा संलग्न हुन रोक लगाएको छ । यस्तो अवस्थामा विदेशी नेताको उपस्थितिमा मत मागिएको विषय कानुनी र नैतिक दुवै दृष्टिले प्रश्न उठ्ने देखिन्छ ।

निर्वाचन आयोगको आचारसंहिता अनुसार विदेशी व्यक्ति वा संस्थाबाट प्रभाव पार्ने गतिविधि स्वीकार्य हुँदैन । यदि विदेशी नागरिकले प्रत्यक्ष रूपमा मत मागेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारमाथि कारबाही हुन सक्ने प्रावधान छ । यस विषयमा औपचारिक उजुरी परेमा निर्वाचन आयोगले छानबिन गर्नेछ ।

घटनापछि विपक्षी दल तथा स्थानीय तहका केही नेताले विदेशी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेका छन् । उनीहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र र निष्पक्ष हुनुपर्ने भन्दै आयोगलाई छानबिन गर्न आग्रह गरेका छन् ।
यता शाह पक्षले भने उक्त भेट शिष्टाचार भेट मात्र भएको दाबी गरेको छ । उनीहरूले विदेशी नेताले औपचारिक रूपमा प्रचार नगरेको जिकिर गरेका छन् ।

विदेशी नेताको उपस्थितिमा मत मागिएको विषयले कपिलवस्तु-३ मा चुनावी माहोल तताएको छ । यसले कानुनी, कूटनीतिक तथा नैतिक प्रश्नसमेत उठाएको छ । अब निर्वाचन आयोगको धारणा र सम्भावित कदमतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

Sarbottam
Loading...